द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको सिनेमा ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यो अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम सोमवार आयोजना गरिएको थियो । सिनेमाले गत शनिवार नै ५१ दिन पूरा गरेको हो ।
निर्देशक सशान कँडेलले विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सो अवसरमा सिनेमा युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो । पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहेका थिए ।
यो कार्यक्रममा सिनेमामा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो सिनेमा नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।
नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो सिनेमा नै दर्शकको प्रेमले सफल बनाएको भन्दै आभार प्रकट गरेका हुन् । उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि विश्वविद्यालय भएको बताउँदै यो सिनेमाबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरेका थिए । निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले सिनेमालाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरेका थिए ।
सिनेमामा अभिनेता प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् । सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी र सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शंकर कोइराला कार्यकारी निर्माता तथा कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।



प्रतिक्रिया