‘जार’ टिम वर्ल्ड प्रिमियरको लागि सिक्किम प्रस्थान

‘जार’ टिम वर्ल्ड प्रिमियरको लागि सिक्किम प्रस्थान

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ अर्थात् मे ९ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ ।

निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

सिनेमाको वर्ल्ड प्रिमियर यही बुधवार गान्तोक सिक्किममा हुँदैछ । सिनेमा, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए ।

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडीमा यो सिनेमाको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकसँगै सिनेमा हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया समेत लिनेछ, भने दार्जिलिङमा पनि सिनेमाको प्रचारात्मक कार्यक्रम तय छ ।

यो सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सिनेमामा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको सिनेमा ‘जार’मा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो सिनेमाको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।