द सिनेमा टाइम्स, काठमाडौं । बैशाख १९ गते आज शुक्रबारबाट अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘झिल्को’ प्रदर्शनमा आएको छ । शोलो रिलिज भएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शोजसहित प्रदर्शनमा आएको थियो ।
डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा सिनेमाले देखाएको छ । डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामलाई उजागर गरिएको छ ।
सिनेमामा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जाहन्वी बस्नेत, बालकलाकार आयुषी ढकाल, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय छ । यो सिनेमालाई यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक सिनेमा निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्शाउन यो कथा चुनेको बताए ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको सिनेमाको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । सिनेमाको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो । रिलिजको पूर्वसन्ध्यामा बिहीबार आयोजित प्रिमियर शोमा सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको थियो ।


प्रतिक्रिया