द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ बाट प्रदर्शनमा आउने सिनेमा ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर गरिएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली सिनेमा उद्योगमा प्रतिनिधित्व गर्ने सिनेमाकर्मीको उपस्थिति रहेको थियो ।
सिनेमाको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको छ । ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकले भरिएको थियो । पारिवारिक कारणले अभिनेत्री गीताञ्जली थापा भने आफ्नो सिनेमाको पहिलो प्रिमियरमा सहभागी हुन सकिनन् ।
सिनेमा हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सिनेमालाई पर्दामा नियाल्दै केही घण्टा आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए । कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरेका छन् ।
अभिनेता उत्तम प्रधानले सिनेमा उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ‘जार’ एक पटक हेर्नै पर्ने बनेको बताए ।

मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेताद्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परेका थिए । सिनेमा हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए ।
सिनेमामा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो । निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । ‘खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौंको मेहनतले सम्मान पाउँदा खुशी छुु,’ उनले भने ।
अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै सिनेमा पारखीलाई ‘जार’ले तृप्त बनाउने बताए । इन्द्र बहादुर राईको अमर कृतिमा आधारित सिनेमालाई दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपको छ ।
सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वसहित नेपाली सिनेमा निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली, अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए ।
सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो सिनेमाको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ‘जार’ टिम सिलिगुरी पुग्नेछ । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ ।


प्रतिक्रिया