ऱ्यालीसहित सहभागि ६ हजार दर्शकमाझ धरानमा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न

ऱ्यालीसहित सहभागि ६ हजार दर्शकमाझ धरानमा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बिहीबार साँझ धरानमा भव्य सांगीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी बैशाख २६ गते रिलिज हुने सिनेमा ‘ऊनको स्वीटर’को प्रचारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित यो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

यो कार्यक्रमको लागि पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किलोमिटर बाटोमा मोटरसाइकल र्यालीमार्फत दर्शक आएका थिए । अन्य गाउँदेखि समेत दर्शक आएको जानकारी निर्माण टिमले दिएको छ । यो कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायतको उपस्थिति रहेको थियो ।

सिनेमाका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा संगीतकार झुमा लिम्बू र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरेका थिए ।

सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्याण्ड’ले ‘लजाएर एक्लै किन’, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘आँसुको भारी’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘मखमली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए । गायिका झुमा लिम्बूसँगको ‘काफ्ले’ गीतले दर्शकलाई विशेष रूपमा आकर्षित गर्यो ।

यो कार्यक्रममार्फत संकलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने सिनेमाका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि ‘ऊनको स्वीटर साँझ’को आयोजना गरिएको थियो ।

निर्देशक चौहानको डेव्यु निर्देशकिय सिनेमा ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । निर्देशन चौहान सिनेमाको कथा लेखक पनि हुन् । सिनेमाको छायांकन पाँचथर र नेपाल–भारत सिमाना फालेलुङमा गरिएको हो ।

आर्टमाण्डू प्रालिले निर्माण गरेको सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।