प्रदर्शनको ५१ औँ दिनमा ‘अञ्जिला’ टिमले गर्यो कलाकार र प्राविधिकलाई सम्मान

प्रदर्शनको ५१ औँ दिनमा ‘अञ्जिला’ टिमले गर्यो कलाकार र प्राविधिकलाई सम्मान

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सिनेमाको टिम तथा ५१ दिन मनाएका हललाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो । यो कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहले विभिन्न प्रस्तुतिहरू दिएका थिए ।

सिनेमाका गायक तथा संगीतकार थानेश्वर गौतमले पनि ‘अञ्जिला’को चर्चित गीत ‘रात किन हुन्छ’को प्रत्यक्ष प्रस्तुति दिए । कार्यक्रममा विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारी, पत्रकार, हल सञ्चालक तथा व्यवस्थापक र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो ।

यो अवसरमा सिनेमाका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तक सफलताको हकदार भएको बताए । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले देशभरका हलमा ४५ शोसहित ५१ दिन मनाएको हो । सिनेमाले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाई गर्दै बायोपिक सिनेमामा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

निर्देशक चाम्सले ‘अञ्जिला’ नेपाली सिनेमाको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक सिनेमा बनेको दाबी गरेका थिए ।

यो नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा हो । जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । सिनेमामा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।