द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका रहेको सिनेमा ‘जार’को भारतमा दोस्रो ग्राण्ड प्रिमियर सिलिगुडीमा सम्पन्न भएको छ । शनिबार आयोजित प्रिमियर शोमा अभिनेता अनुपविक्रम शाही उपस्थित दर्शकको केन्द्रमा रहेका थिए ।
मुख्य कलाकारको रूपमा एकल प्रतिनिधित्व गरेका शाही स्थानीय दर्शक तथा शुभचिन्तकबाट घेरिएका थिए । सिटी सेन्टरमा अवस्थित पिभिआर आइनक्स सिनेमाजमा आयोजित भव्य समारोहमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वको उपस्थिति थियो । सिलिगुडीबासी नेपाली भाषीहरूले निर्माण टिम र कलाकारसँगै रहेर सयौं वर्ष पहिलेको नेपाली समाजको यथार्थतालाई सिनेमाको पर्दामा नियाल्ने अवसर पाए ।
अभिनेता अनुप बिक्रम शाहीले नेपाली सिनेमालाई माया दिने भारतबासीलाई धन्यवाद दिँदै यो प्रकारको माया निरन्तर पाउने अपेक्षा रहेको बताए । दुई दिन पहिले मात्रै सिक्किममा सम्पन्न वर्ल्ड प्रिमियरमा प्राप्त प्रतिक्रियामा खुशी साटेको निर्माण टिमलाई सिलिगुडी प्रिमियरले थप उत्साहित बनाएको छ । निर्देशक अनमोल गुरुङले ‘जार’ नेपाली सिनेमाको लागि नयाँ प्रयोग भएको बताए । एक प्रतिभावान निर्देशक नेपाली सिनेमा उद्योगले पाएको भन्दै निर्देशक फुर्वाछिरिङ लामाको खुलेर तारिफ गरे ।
भारतमा सम्पन्न प्रिमियरमा पाएको प्रतिक्रियाले बैशाख २६ (मे ९) बाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदा दर्शक आकर्षणको लागि ठुलो सघाउ पुग्ने विश्वास कार्यकारी निर्माता पेमा रिन्जिङ लेप्चाको छ । जुन मेहनतले हामीले ‘जार’ तयार गरेका छौं । भारतमा सम्पन्न प्रिमियरबाट प्राप्त प्रतिक्रियाले एक प्रकारको सन्तुष्टि मिलेको छ । सोहि प्रकारको साथ र प्रेम नेपाली दर्शकबाट पनि प्राप्त हुने विश्वास निर्माता लेप्चाको छ ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमा वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको सु-प्रसिद्ध कथा ‘जार’लाई निर्देशक लामाले दृश्य भाषामा उतारेका हुन् । यो सिनेमालाई अखिलेश राईले सम्पादन गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।




प्रतिक्रिया