सौगात र अनुपको ‘जार’ नेपाल प्रिमियरमा रुचाइयो

सौगात र अनुपको ‘जार’ नेपाल प्रिमियरमा रुचाइयो

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फुर्वा छिरिङ लामाको डेव्यु निर्देशन निर्माण भएको सिनेमा ‘जार’को ललितपुरस्थित लविम मलमा सञ्चालित क्युएफएक्स सिनेमाजमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । नेपाली भाषीको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार नेपालमा प्रिमियर गरिएको हो ।

मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लितपुर क्षेत्र नम्बर २ का सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमी, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको उपस्थिति रहेको थियो ।

सिनेमा हेरेपछि अधिकांशले ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने सिनेमाले प्रेम र वीरता अनि सिनेमामा प्रयोग गरिएको भीएफएक्स र संगीतको खुलेर तारिफ भएको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको ‘जार’ पूर्ण मौलिक सिनेमा बनेकाले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो सिनेमा हेर्नु पर्ने बताए ।

ललितपुर क्षेत्र नम्बर २ का सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक सिनेमा लागेको बताए । राम्रो काम गरेकोमा निर्माण टिमलाई बधाई दिँदै राम्रो सिनेमा निर्माणको उदाहरण ‘जार’ भएकाले यसले सामाजिक सन्देश दिएको पनि बताए । उनले सिनेमा सम्पुर्ण दर्शकलाई हेर्न आग्रह गरेका छन् ।

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘जार’ नेपाली सिनेमाको बढ्दो स्तरको प्रमाण भएको बताइन् । ‘हामीले पछिल्लो समय उत्कृष्ट सिनेमा दिएकाले यो त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई सिनेमाको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिमा केही चुनौती भएपनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौं,’ उनले भनिन् ।

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली सिनेमाको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए । अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् । नेतृ हिसिला यामीले ‘जार’ समसामयिक सन्दर्भको सशक्त पाटो भएको बताइन् । अहिले आर्थिक तथा राजनीतिक समस्या नेपाली युवा युवतीको घाँटीमा ‘जार’ बनेर झुन्डिएको बताइन् ।

समीक्षक तथा निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता नेपाली सिनेमाको नयाँ उचाई भएको प्रतिक्रिया दिए । प्रिमियर शोपछि अभिनेता सौगात मल्लले आफूले २६/२७ वर्ष देखि कल्पना गरेको सिनेमामा काम गर्न पाउँदा खुसी लागेको बताए । अर्का अभिनेता अनुप बिक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेकाले दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।

आगामी शुक्रबार अर्थात् बैशाख २६ गतेबाट प्रदर्शनमा आउने साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा सिनेमा ‘जार’ २२५ वर्ष अगाडिको सेटअपमा निर्माण गरिएको हो । फेरि टेल पिक्चर्सले निर्माण गरेको सिनेमा सामाजिक विषयको कम्प्लिट प्याकेज भएको डेव्यु निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

सिनेमामा सौगात मल्ल, अनुपबिक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ । सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । सिनेमा नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।