द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुम्निमा’को मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । प्रेमकथामा आधारित हुने यो सिनेमा नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ ।
यो सिनेमाको मुख्य अभिनेत्रीमा उपासना अनुबन्धित भएसंगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ । युकेमा रहेको २० देखि २६ वर्षको व्यक्तिले अडिसनमा भाग लिन पाउने जानकारी निर्माण टिमले दिएको छ ।
जुलाईदेखि यो सिनेमाको छायांकन नेपाल र बेलायतमा हुनेछ । निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै सिनेमा निर्माण गरिने बताए । ‘कथावस्तु युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै सिनेमा निर्माण गर्न लागेका हौं,’ उनले भने ।
चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यो सिनेमा निर्देशक चाम्सको ११ औं सिनेमा हो । सिनेमाको कथा तथा पटकथा राजीव थापाले लेखिरहेका छन् । यही हप्ता निर्देशक चाम्सको १० औं निर्देशकिय बायोपिक सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको ५१ औं दिन मनाएको थियो । ‘अञ्जिला’ले प्राप्त गरेको सफलतासँगै चाम्सलाई यो सिनेमालाई उत्कृष्ट बनाउनु पर्ने चुनौती छ ।
निर्देशक चाम्स ‘सुम्निमा’को कथा र टिम राम्रो भएको हुँदा उत्कृष्ट सिनेमा निर्माण हुनेमा ढुक्क देखिए । सिनेमाका अन्य प्राविधिक र टिमको बारेमा केही समयपछि मात्र जानकारी दिने निर्देशक चाम्सले बताए ।



प्रतिक्रिया