प्रदीप र गौरवलाई लिएर सिनेमा निर्माण गर्दै निर्मात्री शर्मिला पाण्डे

प्रदीप र गौरवलाई लिएर सिनेमा निर्माण गर्दै निर्मात्री शर्मिला पाण्डे

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्मात्री शर्मिला पाण्डेले नयाँ सिनेमा निर्माणको तयारीमा जुटेकी छन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ सिनेमाको निर्माण प्रक्रिया अगाडि बढेको निर्मात्री पाण्डेको बताइन् । यसअघि उनले ‘लभ लभ लभ’, ‘घर’, ‘चंगाचेट’, ‘आमा’ र ‘परस्त्री’ लगायतका आधा दर्जन सिनेमा निर्माण गरिसकेकी छिन् ।

निर्मात्री पाण्डेले निर्माण गर्न लागेको नयाँ सिनेमालाई उनकै छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले सिनेमा ‘परस्त्री’बाट निर्देशनमा डेब्यू गरेका थिए । शर्मिला पाण्डे नेपाली सिनेमा क्षेत्रका लागि स्थापित नाम हो । केही सिनेमा निर्माण गरसँगै उनी चर्चामा छिन् । अब, प्रदीप र गौरवलाई लिएर उनी सिनेमा बनाउन तम्सिएकी हुन् ।

यो सिनेमाका लागि आज अभिनेता प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ । प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्–‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी सिनेमाको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’

शर्मिलाका अनुसार, यो सिनेमामा २ जना अभिनेता हुनेछन् । गौरवलाई लिएर शर्मिलाले सिनेमा ‘परस्त्री’ निर्माण गरेकी थिइन् । यता, गौरव र प्रदीपले अभिनय गरेको सिनेमा ‘पिताम्बर’ हाल नेपाल र विदेशमा प्रदर्शनरत छ । यो सिनेमाले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ ।