द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने दुई सिनेमा ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । फरक कथावस्तुमा निर्माण भएका यी दुवै सिनेमाको मंगलबार साँझबाट देशभरका प्रायः मल्टीप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो ।
नवीन चौहानको डेव्यु निर्देशनमा निर्माण भएको ‘ऊनको स्वीटर’ शो संख्यामा ‘जार’ भन्दा केही अगाडि देखिएको छ । यो सिनेमालाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ । बुधबार दिउँसो २ बजेसम्म सिनेमालाई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो उपलब्ध गराएका छन् । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शुक्रबारसम्म २ सय बढि शोसहित प्रदर्शनमा आउन सक्ने देखिन्छ ।
यता, पूर्वा छिरिङ लामा डेव्यु निर्देशित ‘जार’को शो पनि देशभरका मल्टीप्लेक्स हलहरुमा सुखद् देखिएको छ । क्यूएफएक्स चेनले देशभर गरी सिनेमालाई २३ शो दिएको छ भने पहिलो दिनका लागि देशव्यापी १०० हाराहारी शो उपलब्ध छ । यसको पनि बिहीबार साँझसम्म केही शो बढ्न सक्ने देखिन्छ ।
अब यी दुवै सिनेमालाई उपलब्ध शोलाई उच्च दर्शक अकुपेन्सीमा बदल्नुपर्ने चुनौती छ । दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको खण्डमा शनिबार नै दुवै सिनेमाको शोमा बृद्धि हुनेछ ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ २२५ वर्ष अगाडिको सेटअपमा निर्माण गरिएको छ । फेरि टेल पिक्चर्सले निर्माण गरेको सिनेमामा सौगात मल्ल, अनुपबिक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ । सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो । सिनेमामा विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया