द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको थियो । एक हजार अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकको उपस्थितिमा सम्पन्न प्रिमियर शोले सिनेमाप्रति उत्साह देखाएको छ ।
सिनेमाको प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
सिनेमा हेरेपछि अतिथिहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । उपसभामुख राना मगरले सिनेमाले प्रेमको गहिरो भावमा मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा सिनेमाले सुन्दर तरिकाले देखाएको बताइन् । अभिनेता दयाहाङ राईले सिनेमालाई गजबको कृति भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सांसद शोबिता गौतमले सिनेमाको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तु मनमोहक बताइन् । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएकाले निर्देशक नवीन चौहान प्रशंसाको हकदार रहेको भाव व्यक्त गरिन् ।
सिनेमाका कलाकारहरू पनि भाव विह्वल देखिए । विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन् । एलेक्स पारसले पहिलो सिनेमाबाट राम्रो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए । परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् ।
गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि सिनेमा दर्शकको जिम्मामा रहेको बताए । निर्देशक नवीन चौहानले प्रिमियरको प्रतिक्रियाले न्यानोपन दिइरहेकाले यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो भएको अनुभव सेयर गरेका थिए ।
सिनेमा ‘ऊनको स्वीटर’को अग्रिम टिकट बिक्री देशभरका सिनेमा घरहरूमा सुरु भइसकेको छ । वितरक गोविन्द शाहीका अनुसार देशभर २०० भन्दा बढी शो उपलब्ध छन् । सुजन चापागाईँ र झुमा लिम्बुको संगीत निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले सामाजिक सञ्जालमा लोकप्रियता पाइरहेका छन् । ट्रेलर र टिजरमार्फत सिनेमाले दर्शकको ध्यान तानेको छ ।
आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतका कलाकारको अभिनय छ । पाँचथर र फालेलुङ क्षेत्रमा छायांकन गरिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको सिनेमाले नेपाली समाजको विविधता र प्रेमकथा प्रस्तुत गरेको छ ।





प्रतिक्रिया