अशोक थापा मगर निर्देशित ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित

अशोक थापा मगर निर्देशित ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको हिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । सिनेमाको निर्माण टिमले केही दिन अगाडी नै उनीसँग लिखित सम्झौता गरेको हो । सिनेमामा शिल्पा कस्तो भूमिकामा देखिने भन्ने निर्माण खुलाएको छै ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै धिरज मगर, सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी अनुबन्धित भैसकेका छन् । धिरज बाहेकका कलाकारले त पहिलो चरणको छायांकन समेत गरिसकेका छन् । गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु सिनेमा हो ।

बागलुङको कालिका मन्दिरमा यो सिनेमाको पहिलो चरणको छायांकन केही समय अगाडी गरिएको थियो । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो सिनेमाको छायांकन तिन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।