रिम विश्वकर्माको निर्देशनमा ‘राजकुमारी’ निर्माण घोषणा

रिम विश्वकर्माको निर्देशनमा ‘राजकुमारी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रिम विश्वकर्माको निर्देशनमा सिनेमा ‘राजकुमारी’को निर्माण घोषणा गरिएको छ । करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको टिमले शिर्षक सार्वजनिक गर्दै सिनेमाले प्रेम, संघर्ष र साहसको कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ ।

रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको लेखक समेत रहेका निर्देशक विश्वकर्माले यो सिनेमालाई ‘ड्रिम प्रोजेक्टको रुपमा लिएको बताए । उनले भने, –‘मैले यसअघि पनि केही निर्माण गरेको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ । यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु ।’

यो सिनेमामा पीबी थापाले एकल लगानी गर्दैछन् । निर्माता थापाले यो सिनेमाको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए । थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन् । बाँकी कुरा शुभमुहुर्त कार्यक्रममा बोल्नेछौं ।’

सिनेमाको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए । यद्यपि, सिनेमाका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

सिनेमाको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि-प्रोडक्सनको काम भैरहेको छ । आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ । शिर्षक अनुसार सिनेमा राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन । सिनेमाको काठमाडौंमा अधिकांश छायांकन हुनेछ भने केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

निर्देशक विश्वकर्माको सिनेमा ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ ।