दर्शकबाट राम्रो प्रतिक्रिया मिलेपछि ‘जार’को भारतमा उच्च माग

दर्शकबाट राम्रो प्रतिक्रिया मिलेपछि ‘जार’को भारतमा उच्च माग

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो सिनेमाप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टीप्लेक्सले शो थप गरेका छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । यस्तै, दार्जीलिङमा पनि सिनेमाको शोज थप भएको छ । हाल प्रदर्शनमा आएका सबै शहरमा सिनेमाको उच्च माग देखिएको छ । सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ । क्षेत्रीले भनिन्, ‘दर्शकले ‘जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।’

दोश्रो चरणमा नेपाली भाषी बाहुल्य शहर मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुर लगायतका ठाउँमा सिनेमा प्रदर्शनको क्रममा रहेको क्षेत्रीले बताइन् । नेपालमा पनि सिनेमालाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ । विभिन्न हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए ।

सिनेमाले उठाएको कथावस्तु, विजिएम, सिनेमाटोग्राफी, कलाकारको अभिनय, निर्देशकीय पाटोलाई दर्शकले रुचाएका छन् । समीक्षकले समेत ‘जार’लाई राम्रो प्रतिक्रिया दिएका छन् । निर्देशक फुर्वाछिरिङ लामा र सिनेमाटोग्राफर सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर धन्यवाद दिएका छन् । शनिबार दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’लाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार शोरुप प्रदान गरेका हुन् । दर्शक तथा समिक्षकबाट प्राप्त प्रतिक्रियाले खुशी मिलेको भन्दै निर्देशक लामाले यो प्रकारको साथ अपेक्षा भोलीको दिनमा पनि राखेको बताए ।

सिनेमामा सौगात र अनुपविक्रमसहित भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिका रहेको छ । अखिलेश राईको सम्पादन रहेको सिनेमाको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । नेपालमा यो सिनेमालाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गरेका हुन् ।