द सिनेमा टाइम्स, काठमाडौं । संयुक्त राज्य अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको ग्लेन आर्ममा बस्दै आएकी अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएकी छन् । आइतबार उनले अभिनेता राहुल केसीसँग लगनगाँठो कसेकी हुन् । उनीहरूले हिन्दू परम्पराअनुसार अमेरिकाको एक मन्दिरमा विवाह गरेका हुन् ।
यो जोडीको विवाह समारोहमा दुई पक्षका परिवारसहित अमेरिकामा बस्दै आएका उनीहरू निकट सिनेमाकर्मीहरूको उपस्थिति रहेको थियो । सामाजिक परम्पराअनुसार विवाह गर्नुअघि उषा र राहुलले गत २८ अप्रिल अर्थात् बैशाख १५ गते स्थानीय अदालतमा कोर्ट म्यारिज गरेका थिए ।
लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका उनीहरू दुवैको यो दोस्रो विवाह हो । आइतबार साँझ नै उनीहरूले विवाहको पार्टी पनि दिइसकेका छन् । अहिले यो जोडीलाई सिनेमाकर्मीहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
एक समय नेपाली सिनेमाकी चर्चित अभिनेत्री हुन् उषा पौडेल । ‘मुनामदन’बाट दर्शकमाझ चिनाएकी उषाले ‘कर्म’बाट नेपाली सिनेमामा डेब्यु गरेकी थिइन् । तीन दर्जन बढि नेपाली सिनेमामा अभिनय गरेकी उनले नेपालीसहित केही भारतीय सिरियलमा पनि काम गरेकी छन् ।
इनास अमेरिका नेशनल कमिटीका अध्यक्ष अभिनेता राहुल केसीले भने ‘नागरिक’, ‘किसान’ जस्ता सिनेमामा काम गरेका छन् ।


प्रतिक्रिया