द सिनेमा टाइम्स, काठमाडौं । फ्रान्सको दक्षिणी सहर कान्समा भोली मंगलबारदेखि विश्व प्रतिष्ठित कान्स सिनेमा महोत्सवको ७८ औं संस्करण सुरु हुँदैछ । कान्समा मे १३ देखि २४ तारिखसम्म हुन लागेको महोत्सवमा सहभागी हुन विश्वभरबाट कलाकार, निर्देशक, निर्माता तथा वितरक भेला भइरहेका छन् । यो महोत्सवमा ‘मिसन इम्पोसिबल : द फाइनल रेकनिङ’ जस्तो हलिउडको प्रतिक्षित सिनेमाको प्रिमियर हुँदैछ ।
यस वर्ष कान्स महोत्सवको प्रतिस्पर्धामा नेपाली सिनेमा छनोट नभएपनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित सिनेमा ‘एक्लो’को महोत्सवमा स्टल राखिने भएको छ । जहाँ सिनेमाको टिमले अन्तर्राष्ट्रिय वितरकलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे छलफल गर्नेछ । यो महोत्सवमा पहिलो पटक नेपाली सिनेमाको स्टल राखिन लागिएको हो ।
महोत्सवको प्रोड्युसर्स नेटवर्कमा छानिएका निर्देशक शाही आइतबार फ्रान्सको राजधानी पेरिस पुगिसकेका छन् भने निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र बजारीकरण प्रमुखको रुपमा सिनेमाकी को-अपरेटिभ डिरेक्टर रिश्ता कार्की कान्स मार्केटमा सहभागी हुनेछन् । महोत्सवमा सिनेमाको स्टल राख्न निर्माताले ५० लाखभन्दा बढी खर्च गरेका छन् ।
यस वर्षको महोत्सवमार्फत नेपाल र ‘एक्लो’लाई कनेक्ट गर्न खोजेको निर्देशक शाहीले बताए । उनका अनुसार महोत्सव सुरु हुनुअघि नै ७ अन्तर्राष्ट्रिय वितरकले सिनेमाप्रति रुचि राखेका छन् । सिनेमाको वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेको निर्देशक शाहीले बताए । ‘एक्लो’को यतिबेला बेलायतमा प्रि-प्रोडक्सनको काम भइरहेको छ ।
सिनेमाले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । भीएफएक्ससहित ‘एक्लो’को बजेट ६ करोड पुगेको जनाइएको छ । यही वर्ष प्रदर्शनको लक्ष्य राखिएको सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरीसहित बेलायती कलाकार जेमी बेकन लगायतको अभिनय छ ।



प्रतिक्रिया