द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको सिनेमाको गत चैत २५ गते काभ्रेबाट सुरु गरिएको छायांकन सोमबार ३५ दिनमा प्याकअप भएको हो ।
ललितपुरको च्यासलस्थित एक ब्याङ्क्वेटमा छायांकन सकिएको खुसीयालीमा निर्माण टिमले पार्टी समेत आयोजना गरेको थियो । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन भएको सिनेमामा विजयसहित केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । सिनेमालाई हरितालिका तीजमा रिलिज लक्ष्य राखिएको छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । आमा–छोराबीचको भावनात्मक कथा भन्ने सिनेमाले गाउँबाट सहर आएका एक व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । निर्देशक न्यौपानेका अनुसार सिनेमा विभिन्न सम्बन्धहरुको कथा हो ।
‘प्रेमगीत ३’का मुख्य अभिनेता मनिष राउत एसोसियट निर्देशक रहेको सिनेमामा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत, नवीन गुरुङ डीओपी तथा कृष्ण परियारको सिनेमोटोग्राफी छ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मेवारी सम्हालेको छ ।


प्रतिक्रिया