द सिनेमा टाइम्स, काठमाडौं । मंगलबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक इन्डोर स्टुडियो निर्माणको प्रारम्भ गरेका छन् । डेढ दशकभन्दा लामो समयदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा मात्र सीमित भएको सिनेमा छायांकन स्टुडियो अब भने निर्माण हुने भएको हो ।
बनेपा नगरपालिकास्थित वडा नंम्बर १० र १३ मा बन्ने स्टुडियोको निर्माण हुने इन्डोर स्टुडियोको शिलान्यास गरिएको छ । ‘सिनेपाः सिनेमा छायांकन स्टुडियो’ नाम राखिएको स्टुडियोको निर्माण आरम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो अत्याधुनिक स्टुडियोले नेपाली सिनेमा क्षेत्रलाई बदल्छ भन्ने विश्वास लिएको छु । यो एउटा क्रान्ति हो । सिनेमा क्षेत्रको युग परिवर्तन हो यो । यसमार्फत् हामी सिनेमा क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौं ।’
प्रधानमन्त्री ओलीले ‘सिनेपाः सिनेमा छायांकन स्टुडियो’ सिनेमा क्षेत्रको मात्र नभएर सरकारको पनि सरोकारको विषय रहेको बताए । स्टुडियो निर्माण गर्न ढिलाइ भएकोमा आफ्नो पनि कमजोरी रहेको उनले स्वीकार गरेका थिए । ‘स्टुडियो बनाउन यति ढिला भएकोमा म आफ्नो पनि कमजोरी महसुस गर्छु । यति ढिलो हुनै नपर्ने हो,’ उनले अगाडि भने, ‘यो स्टुडियो बहुवर्षीय आयोजना हो । यसै वर्ष सकिँदैन । अर्को बजेटमा फेरि आउला । तर, अब स्टुडियो बन्छ । यसका लागि सरकारसँग जुन माग गरिएको छ, त्यो पूरा हुन्छ ।’
सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डबाट ४२ रोपनी क्षेत्रफलमा बन्ने स्टुडियोका लागि गत माघमा बोलपत्र आह्वान भएर बैशाखमा ठेक्का स्वीकृत भएको थियो । यू एन्ड एस–एनएस–रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले स्टुडियो निर्माणको ठेक्का पाएको छ । यो स्टुडियोमा आधुनिक छायांकन प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ ।



प्रतिक्रिया