‘महाभोज’ टिमको मध्यरातको ‘सत्य कहिल्यै लुक्दैन’ पोस्टको रहस्य के हो ?

‘महाभोज’ टिमको मध्यरातको ‘सत्य कहिल्यै लुक्दैन’ पोस्टको रहस्य के हो ?

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’का निर्देशक र कलाकारको एउटा पोस्टले मंगलबार मध्यरातमा सनसनी नै मच्चायो । सिनेमाका मुख्य कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निर्देशक दिनेश राउतले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए ।

यसपछि धेरैले टिमभित्र ठूलै तनाव उत्पन्न भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, उनीहरुको पोस्ट सिनेमाका कुनै सदस्यप्रति लक्षित नभई प्रचार रणनीतिको एउटा हिस्सा हो । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य भित्तामा लेखिएको दृश्य टिजरमै समावेश छ । त्यसैलाई निर्देशक र कलाकारले फेसबुक र इन्स्टाग्राममा लेख्दै दर्शकमा कौतुहलता सिर्जना गरेका हुन् । उक्त वाक्यांशकै वरिपरि सिनेमाको कथा घुमेकाले पनि निर्माण पक्षले त्यो रणनीति अपनाएको बुझिन्छ ।

सहकारी ठगी प्रकरणको कथामा आधारित सिनेमा ‘महाभोज’ भएकाले यो विषय अहिले देशका लागि नै टाउको दुखाई बनेको छ । केही सहकारी ठगी प्रकरण दबाउन राजनीतिक तहबाट समेत प्रयास भइरहेको परिदृश्यमा ‘महाभोज’ले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्यलाई नारा बनाउँदै सत्यलाई उजागर गर्न खोजेको देखिन्छ । अब त्यो सत्य के हो ? सिनेमा हेरेपछि नै थाहा हुनेछ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमामा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । सिनेमामा विकास सुवेदीको लेखन तथा राजेश श्रेष्ठको डीओपी छ ।