द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप बढेको छ । सिनेमाको ट्रेलर दर्शकमाझ राम्रो हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ ।
सिनेमाका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट सिनेमाको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए । यसैबिच, नेपाली सिनेमाका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा ‘नरसिंहाः अवतार’को प्रदर्शन राइट्स विक्री भएको छ । बीआई इभेन्ट्सले सिनेमाको अष्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको हो ।
सिनेमालाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्-‘महानायक राजेश हमालको क्रेज र सिनेमाको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकको मागलाई ध्यानमा राखेर हामीले सिनेमाको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, सिनेमाले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’
वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् । उनले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा सिनेमा रिलिज हुने बताइन् । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।
सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको सिनेमाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।



प्रतिक्रिया