द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो सातामै दर्शकको मन जितेर व्यापारिक सफलताको बाटो अगाडी बढेको छ । बुधवार रिलिजको पाँचौँ दिन देशभरका हलमा दर्शकको राम्रो चाप देखिएको हो । यो सिनेमाका वितरकका अनुसार आजका अधिकांश शोहरू हाउसफुलको अवस्थामा छन् ।
कतिपय हलमा ‘डिल डे’ परेकाले दिनभरका शो नै हाउसफुलको आसपासमा हुने विश्वास वितरकको छ । उनीहरुका अनुसार अधिकांश शोहरूमा दर्शकको चाप देखिएकाले व्यापार राम्रो हुने अनुमान छ । यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने वितरकले जानकारी दिएका छन् ।
सिनेमाको व्यापारसँगै संगीत पक्ष पनि उत्तिकै चर्चामा छ । हालै सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले सामाजिक सञ्जालमा सनसनी नै मच्चाइरहेको छ । रिलिजको तेस्रो दिन सार्वजनिक भएको यो गीतले श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसअघि रिलिज भएका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ पनि करोडौँ दर्शकको मन जित्न सफल भइसकेका छन् ।
बिहीबार आज छैटौँ दिन पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकसँग साक्षात्कार गरिरहेका छन् । दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ । निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ र निर्देशक स्वयं सहभागी हुनेछन् ।
नवीन चौहानको लेखन तथा निर्देशनमा निर्माण भएको ‘ऊनको स्वीटर’मा मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय रहेको छ ।


प्रतिक्रिया