अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज भयो सौगात र अनुपको ‘जार’

अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज भयो सौगात र अनुपको ‘जार’

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट रिलिज भएको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट सिनेमाको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको हो ।

निर्देशक फुर्वाछिरिङ लामाले युएईका शहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलमा सिनेमा प्रदर्शनमा आएको बताए । यस्तै, कतारको दोहा, बहराइनको मनामा लगायतका सहरमा समेत सिनेमा रिलिज भएको हो । भोली शुक्रवारबाट यो सिनेमा युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा रिलिज तय भएको निर्देशक लामाले बताए ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित सिनेमाले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ । ‘नेपाल र भारतमा हाम्रो सिनेमा हेर्ने जति पनि दर्शक र समीक्षकबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौं,’ निर्देशक लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ ।’

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको सुम्पुर्ण छायांकन सिक्किममा गरिएको हो । सिनेमामा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ ।

सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । सिनेमालाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।