हरितारा पुरस्कार र श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार प्रदान

हरितारा पुरस्कार र श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार प्रदान

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बिहिबार राजधानीमा आयोजित एक समारोहका बिच अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा सिनेमा पुरस्कार’ र रंग पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा सिनेमा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

अभिनेता पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । सिनेमा पुरस्कारमा जनही २५ हजार र पत्रकारिता पुरस्कारमा १० हजार राशी समावेश छ । मनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले २०५२ सालमा आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन् ।

परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन-सिनेमाकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा १० हजार राशीको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।

अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, सम्झना उप्रेती रौनियार, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन–सिनेमाकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । साथै, संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–सिनेमा पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो ।

यो कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ-आफ्नो शिल्पद्वारा आफ्नो बिधामा रचनात्मक योगदान दिदै आएका सिनेमाकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाँउदा गर्वको अनुभूति गरेको जनाएका छन् ।

यो कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमा क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको जनाए । यो कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अभिनेत्री बुसन्धरा भुषाल र पुरस्कृत ब्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।

पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए । मायांक राणा सिरोइयाको सभापत्त्विमा भएको कार्यक्रममा विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, अभिनेत्री चैत्य देवी, मिथिला शर्मा, अभिनेता शिव श्रेष्ठ, गायिका देविका बन्दना, कलाकार रबिन्द्र खड्कालगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी र सिनेमाकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो । देवेन्द्र पाण्डेको संयोजनमा भएको कार्यक्रमलाई माधवराज खरेलले सहजीकरण गरेका थिए ।