विजय केरुङको निर्देशनमा ‘परिवर्तन’ बन्ने, मुख्य भूमिकामा सुशिल र अञ्जना

विजय केरुङको निर्देशनमा ‘परिवर्तन’ बन्ने, मुख्य भूमिकामा सुशिल र अञ्जना

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक विजय केरुङले सिनेमा ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाई’, ‘आमाको काख’ लगायतका दर्जनौं सिनेमा निर्देशन गरिसकेका केरुङको यो सिनेमाले एक इमानदार प्रहरी अफिसरको कथा प्रस्तुत गर्नेछ । जसले कानुनप्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्व बीचको संघर्ष भोग्दै जान्छ ।

यो सिनेमाले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो सञ्जाल र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने छ । सिनेमामा पछिल्लो समयका डिमान्डेड कलाकार अञ्जना बराइली र सुशील श्रेष्ठ मुख्ख भूमिकामा देखिने छन् । ‘आउटलः दफा २१९’ बाट एक्सन अभिनेतामा उदाएका सुशील श्रेष्ठको लागि ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी निर्देशक केरुङले गरेका छन् ।

दिब्यासी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने सिनेमामा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायतका कलाकारको अभिनय रहनेछ । यो सिनेमाका निर्माता दीपक सिवाकोटी हुन् । समाज परिवर्तनका लागि निर्माता सिवाकोटीले सामाजिक मुद्दालाई सिनेमामार्फत उठान गर्ने उद्देश्यले निर्माणमा होमिएका छन् । सिनेमाको कथा उनी स्वयंमले लेखेका हुन् ।

सिनेमामा शिवम् अधिकारी शिव ढकालको पटकथा तथा संवाद, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट, नवराज शर्मा मुख्य सहायक निर्देशक र प्रोडक्सन हेड अरुण रेग्मी हुन् । आगामी हप्ताबाट छायांकन सुरु हुने बताइएको सिनेमा यही वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टिमले लिएको छ ।