द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमा ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको सिनेमा यही वर्ष रिलिजको तयारी समेत निर्देशक शेर्पाले गरेका छन् ।
‘हामीले अहिलेका पहिलो रोजाईका अभिनेतालाई ‘मिरमिरे’मा अनुबन्ध गरेका छौं । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौं ।’
यार्सा फिल्म्सको प्रस्तुति रहने ‘मिरमिरे’मा कलाकारको लाइनअप बलियो हुने निर्देशक शेर्पाको भनाई छ । सिनेमामा अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् । यो सिनेमाले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । सिनेमाको निर्देशनसँगै कथा पनि यम शेर्पा स्वयंको रहनेछ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो सिनेमाको कार्यकारी निर्मातामा रोहित कट्टेल छन् । सिनेमालाई २०८२ मा रिलिज गर्ने भनिए पनि प्रदर्शन मिति भने घोषणा भएको छैन । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।


प्रतिक्रिया