द सिनेमा टाइम्स, काठमाडौं । जेठ १५ गते बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सिनेमा रिलिज २ दिन अगाडी आयोजित यो विशेष शोमा पत्रकार, सिनेमा निर्माण युनिट र देशभरका सहकारी पीडितबाट चयन गरिएका ६० जना प्रतिनिधिको सहभागिता थियो ।
विशेष शोमा हलमा सिनेमा हेरिरहेका दर्शकको भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितले सिनेमाले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । सिनेमा प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीमाझ नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, ‘राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।’
सहकारी पीडितले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै सिनेमालाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखेका छन् । उनीहरूको भनाईमा ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ । जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।
विशेष शोमा सामाजिक यथार्थलाई कलात्मक ढंगमा चित्रण गर्न सकिएको भन्दै सिनेमाको प्रशंसा गरिएको छ । पत्रकारले यसका निर्देशक राउतको निर्देशकीय क्षमताको व्यापक प्रशंसा गरेका छन् । ‘महाभोज’ केवल सिनेमा मात्र नभई यो एक सशक्त सामाजिक दस्ताबेज पनि रहेको उनीहरूले प्रतिक्रिया दिए । यसैबीच, देशभरका प्रमुख मल्टीप्लेक्स तथा सिंगल स्क्रिन हलले सिनेमाको अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकका अनुसार यो सिनेमा करिब २ सय शोसहित प्रदर्शन हुँदैछ ।
सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित सिनेमा ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्ख भूमिका रहेको छ । सिनेमाले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको सिनेमा नेपालसँगै विदेशका केही मुलुकमा एकसाथ प्रदर्शनको तयारीमा छ । विकास सुवेदीको लेखन र राजेश श्रेष्ठको डिओपी रहेको सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुबेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ ।


प्रतिक्रिया