नरसिंहाःअवतार’आज शुक्रबारबाट दोस्रो साता प्रवेश

नरसिंहाःअवतार’आज शुक्रबारबाट दोस्रो साता प्रवेश

द सिनेमा टाइम्स
203
Shares

काठमाडौं । महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ ।
निर्माण पक्षले सिनेमाको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार  पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको दाबी छ ।
सिनेमा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो सिनेमाका  लागि स्वयं महानायक हमाल पनि दिलोज्यान दिएर लागेका छन् ।प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन् । तर सिनेमा ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् ।
सिनेमा रिलिजको सुरुवाती दिनमा काठमाडौ उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन् ।
उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पुरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । यात्रामा उनलाई  अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन् ।
उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ । फिल्म हेर्ने अधिकांश दर्शकले सिनेमामा  राजेश हमालको उपस्थितिलाई उत्कृष्ठ मानेका छन् ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा महानायक संगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।