द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘महाभोज’को प्रदर्शन हिजो बिहीबर नेपालमा तय गरिएको थियो, तर अन्तिम समयमा राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिमका कारण प्रदर्शन स्थगित गरिएको छ। अब, यो सिनेमा अस्ट्रेलियाको पर्थ सहरमा पहिलो प्रिमियरका रूपमा प्रदर्शन हुने भएको छ।
प्रिमियर आगामी जुन १, २०२५ (शनिवार) को साँझ ६ बजे पर्थस्थित ग्यालेरिया शपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुनेछ। यसका आयोजक पर्थका स्थानीय आयोजक र अस्ट्रेलियाका वितरक रोटेपिङ इन्टरटेन्मेन्ट हुन्।
‘महाभोज’ सहकारी ठगीका कारण प्रभावित परिवारको कथा प्रस्तुत गर्ने सिनेमा हो। यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ। सिनेमाको निर्देशन दिनेश राउतले गरेका हुन्।
नेपालमा प्रदर्शन स्थगित भए पनि अस्ट्रेलियामा प्रिमियर तय गरिएको छ। छोटो समय र तयारीको व्यस्तताका कारण सिनेमा टोलीका प्रमुख कलाकार र निर्देशकले यो प्रिमियरमा सहभागिता जनाउन नसक्ने भए पनि केही दिनपछि सबै सहरका शोहरूमा सहभागी हुने योजना रहेको छ।


प्रतिक्रिया