देश दौडाहामा पुगेर ‘महानायक’ले दिन खोजेको सन्देश के हो ?

देश दौडाहामा पुगेर ‘महानायक’ले दिन खोजेको सन्देश के हो ?

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आठ वर्षपछि सिनेमाको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि सिनेमाको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । सिनेमा रिलिज अगाडि मिडिया प्रमोशन होस् वा चलिसकेपछि हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित देखिए ।

राजेश हमाल हल-हलमा पुगेर प्रमोशन गरिरहँदा कतिपयले आलोचना समेत गरे । आखिर, ‘महानायकको ब्रान्ड’लाई पनि हलमा पुग्नु पर्यो भन्ने खालका टिप्पणी सुनिए । तर, हमाल यसलाई दर्शकहरुसँग प्रत्यक्ष भेट्ने मौकाको रुपमा हेर्छन् ।

राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण सिनेमा स्टेशन पुगे । पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् ।

काठमाडौंका हलमा मात्र नभएर विभिन्न स्थानमा पनि पुगेर उनले सिनेमाको प्रमोशन गरिरहेका छन् । हमालले ‘नरसिंहाः अवतार’लाई गम्भीर रुपमा लिएको देखिन्छ । यो सिनेमाको प्रमोशनमा हमालले कही कतै पनि वडिगार्डको माग गरेका छैनन् । अहिलेका नयाँ पुस्ताका अभिनेताहरु पत्रकार सम्मेलनमै वडिगार्डको माग गर्छन् । तर, हमालले भने देश दौडाहाका क्रममा प्रत्यक्ष दर्शकसँग कुराकानी गरे फोटो खिचे ।

हमाल आज पनि आफू अभिनयको क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्नो प्रोजेक्ट सफल बनाउन लागि पर्ने सन्देश दिन सफल भएका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा राजेश हमालको साथमा राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, नीति शाह, टार्जन, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाले एक सातामा २ करोड ४ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो । नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने सिनेमाका निर्माता हुन् ।