द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । उनलाई निर्माण टिमले सिनेमाका लागि अनुबन्धित गरेको हो । अभिनेता शाहले सिनेमाको स्क्रिप्ट मन परेकाले आफु सिनेमामा काम गर्न तयार भएको बताए ।
सिनेमामा अनुबन्धित भइसकेपछि उनले आफुलाई सिनेमाको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए । यो सिनेमाको छायांकन चाँडै गर्नका लागि आफुले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ ।
उनले भने, ‘सबैभन्दा पहिला त यो सिनेमाको स्क्रिप्ट मन पर्यो । स्क्रिप्ट एकदमै इमोसनल छ । अनि टिममा पनि दिग्गज कलाकार लिएर निर्माण गर्न लाग्नु भएको छ । त्यसैले पनि मैले ‘आ बाट आमा’मा काम गर्न लागेको हो । चन्द्र दाईको यसअघिको सिनेमा ‘ह्रस्व दीर्घ’ हेर्दाखेरि उहाँले अति राम्रो मेकिङ गर्नु भएको थियो । त्यस कारण यो ‘आ बाट आमा’ पनि मेकिङको हिसावले राम्रो बन्नेछ ।’
पलले आफुले खेलेको अहिलेसम्मको सिनेमामध्ये यसको कथा एकदमै राम्रो रहेको बताए । ‘यो सिनेमाको स्क्रिप्ट पनि हामीले २–३ पटक सुन्यौं । यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौं,’ उनले भने, ‘मैले अहिलेसम्म गरेको सिनेमामध्ये यो नै इमोसनल सिनेमा बन्छ भन्ने मलाई लाग्छ । दर्शकले पनि अति नै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’
यसअघि नै यो सिनेमामा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन् । निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गराएका थिए । त्यो सहकार्य दर्शकले मन पराएका थिए । त्यसैले पनि निर्देशक पन्तसँग उनी दोस्रो सिनेमामा सहकार्य गर्न लागेकी हुन् ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको सिनेमाको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो । सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ । यो सिनेमामा विपना र पलसहित अन्य कलाकार र प्राविधिकको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए । यो सिनेमा आगामी फागुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया