बलिराम चौहानको ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, विहिबारबाट छायांकन सुरु हुने

बलिराम चौहानको ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, विहिबारबाट छायांकन सुरु हुने

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिराम चौहानको डेव्यु निर्देशनमा निर्माण हुने ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आयोजित शुभमुहूर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै सिनेमाको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ ।

काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने सिनेमाको छायाकंन तालिका २० दिन तय गरिएको छ । ‘द ब्ल्यू लाइट’मा प्रतिक्षित सिनेमा ‘बलिदान’को सहायक लेखक तथा निर्देशक बलिराम चौहानको लेखन तथा निर्देशन रहनेछ । सिनेमाको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।

सार्वजनिक थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट सिनेमाको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने सिनेमाको मुख्ख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी र बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा देखिनेछन् ।

स्काइफल पिक्चर्सको प्रस्तुती रहेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । सिनेमाको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् । कथावस्तु गोप्य राखिएको यो सिनेमा सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।