द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता राज कटुवालको मुख्य भूमिका रहेको सिनेमा ‘नरसिंहाः अवतार’ हाल देशभरका सिनेमा घरमा दोस्रो हप्तामा प्रदर्शनरत छ । यो सिनेमा रिलिज भएसँगै राजको कामको चर्चा भइरहेको छ । अभिनेता कटुवाल यो सिनेमाका लागि देश दौडाहामा समेत पुगेका छन् ।
यो सिनेमालाई आफ्नो डेब्यू भन्दै आएका राजले यसपटक दर्शकको अपार माया पाएका छन् । गत हप्ता काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोएका थिए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा छ । युवतीहरुले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका थिए । क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरुको मन छोएको थियो । उनै, राजलाई हलमा भेट्न पाउँदा युवतीहरुले मन सम्हाल्न सकेनन् ।
यता, धनगढीमा केही दिन अगाडि पुगेका राजलाई दर्शकले जुरुक्कै उचालेका थिए । नेपाली सिनेमाका दर्शकहरुबाट पाएको माया र साथले राज उत्साहित छन् । उनले भने–‘म त निकै नै खुशी छु । दर्शकहरुले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेको नै थिएन । एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । त्यही माया मैले पाएको छु ।’
राजले आगामी दिनमा आफूले अझै मिहिनेत गरेर काम गर्ने बताए । भने–‘दर्शकहरुबाट यस्तो अथाहा प्रेम पाउँछु भन्ने सोचेको नै थिइनँ । अब, मैले अझै जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने महशुश गरेको छु ।’ यो सिनेमाका लागि राजले निकै मिहिनेत समेत गरेका थिए । सोही मेहनतको प्रतिफल अहिले उनले पाइरहेका छन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक प्रसाद ढकालको लगानी छ ।
दोस्रो हप्तामा समेत सुखद् व्यापार गरिरहेको सिनेमाको निर्माण टिम आज बुधबार दर्शक साक्षात्कारको लागि कास्कीको पोखरा पुगेको छ । अन्य शहरहरुमा झै पोखरामा समेत दर्शकको उत्साहजनक सहभागीताको अपेक्षा निर्माण टिमको छ ।


प्रतिक्रिया