द सिनेमा टाइम्स, काठमाडौं । विजय केरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘परिवर्तन’को शुभमुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा गरिएको छ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको सिनेमाको शुभमुहूर्तसँगै छायांकन पनि सुरु भएको छ । यो सिनेमाको छायांकन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न जिल्ला झापा, विराटनगर र इलाममा गरिनेछ ।
शनिबार आयोजित सिनेमाको शुभमुहूर्त कार्यक्रममा सुशील र अञ्जनाले मुहूर्त सट दिएका थिए । सिनेमाको शुभमुहूर्त कार्यक्रममा सुशील र अञ्जनासहित आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्की, निर्देशक केरुङ र निर्माता दीपक सिवाकोटी लगायत अन्य स्थानीय जनप्रतिनिधि र समाजसेवीको पनि उपस्थिति थियो ।
दिब्यासी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई उजागर गर्नेछ । सिनेमाका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका हुन् । सिनेमामा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, पुकार भट्टराई, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको पनि अभिनय रहनेछ ।
सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । नवराज शर्मा मुख्य सहायक निर्देशक रहने सिनेमाको प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।



प्रतिक्रिया