‘बलिदान’बाट सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक

‘बलिदान’बाट सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
686
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेनको निर्देशनमा निर्माण भएको सिनेमा ‘बलिदान’बाट मुख्य अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको शनिबार सार्वजनिक दुई पोस्टरमा उनी सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

सार्वजनिक पोस्टरमा सौगातको शरीर बलिष्ठ देखिन्छ भने दाह्री र कपाल लामो छ । दुवै पोस्टरमा उनको अनुहारमा रिसको आवेग देख्न सकिन्छ । एक पोस्टरमा सौगातको एउटा आँखा कालो रङको छ । गाढा रङको वस्त्र धारण गरेका उनले हातमा एउटा बलिरहेको राँको बोकेका छन् । पोस्टरको पृष्ठभूमिमा राँको र धारिलो हतियार बोकेका मानिसहरु देखिन्छन् । अर्को पोस्टरमा उनी हातमा हतियार बोकेर एक्सन अवतारमा देखिएका छन् ।

यी दुई पोस्टरले सिनेमाको कथावस्तु द्वन्द्वात्मक रहेको देखाउँछ । निर्देशक सन्तोष सेनले ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको बताउँछन् । उनी भन्छन्, ‘सिनेमामा उहाँले बोक्नुभएको यो चरित्र उहाँको अभिनय यात्राको सबैभन्दा गहिरो, सबैभन्दा रहस्यमय र सबैभन्दा जीवन्त पीडा र प्रतिकारको रूप हो ।’ उनका अनुसार सिनेमामा सौगात रुद्र पात्रको भूमिकामा छन् ।

यसअघि सिनेमाका मुख्ख अभिनेता समीर भट्टको जन्मदिनमा प्रि-टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र एक्सन दृश्यसहित देखिएका थिए । सौगात र समीरसहित अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्मातामा छन् ।