सिमसोन तामाङको डेव्यु निर्देशन ‘रातो पासपोर्ट’ निर्माण घोषणा

सिमसोन तामाङको डेव्यु निर्देशन ‘रातो पासपोर्ट’ निर्माण घोषणा

द सिनेमा टाइम्स
2.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिमसोन तामाङको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘रातो पासपोर्ट’ निर्माण घोषणा गरिएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई सिनेमाले पर्दामा उतार्ने जनाइएको छ ।

सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण हुन लागेको सिनेमाको कथा माइकल तामाङ र पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले लेखेका हुन् । निर्माण टिमले केही दिनअघि सामाजिक सञ्जालमा ‘सवै भन्छन् – त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट पाइन्छ रे… !’ भन्दै पोस्ट गरेका थिए । तर, औपचारिक निर्माण घोषणा भने मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार मात्र भएको हो ।

सार्वजनिक पोस्टरको थिम युरोपको देश पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ । ‘रातो पासपोर्ट’मा लोक बहादुर तामाङ निर्माता र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । निर्माता पौडेलले यसअघि दुई सिनेमा ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए ।

सिनेमाको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायांकारका रूपमा रवीन्द्र न्यौपाने र संगीतकारका रूपमा जयन जे वाइबा जोडिएका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम)ले गर्नेछन् । निर्देशक सिमसोन तामाङ नेपाली सिनेमा उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् ।

सिनमाका कलाकार तथा क्रू सदस्यहरू नेपालबाट चाँडै नै छनौट गरिने निर्माण पक्षले जनाएको छ । यसका साथै, युरोप र युकेमा रहेका कलाकारलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए । सिनेमाको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुनेछ ।