द सिनेमा टाइम्स, काठमाडौं । यसअघि कार्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा ‘कल्ली’को रिलिज पोस्टपोण्ड गरिएको छ । सिनेमाको ७५ प्रतिशत पोस्ट प्रोडक्सनको काम सकिए पनि दर्शकलाई एउटा उत्कृष्ट र फरक सिनेमा देखाउने लक्ष्यसहित प्रदर्शन मिति हेरफेर गरिएको निर्माता किरण नेपालीले बताए ।
अब यो सिनेमा आगामी फागुन १ गते रिलिज हुनेछ । सिनेमाको नयाँ रिलिज मितिसहित निर्माण कम्पनि लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनले ‘कल्ली’को नयाँ पोस्टर समेत सार्वजनिक गरेका छन् ।
महेश दवाडीको लेखन रहेको सिनेमामा लक्ष्मण सुनारको कथा र निर्देशन छ । सिनेमा ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । सामाजिक कथावस्तुका सिनेमा निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा अभिनेता सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ । अर्को एक पोस्टरमा सौगातको साथमा बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोस्टरले सिनेमाका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ ।
सिनेमामा वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको पनि अभिनय रहेको छ । यो सिनेमामा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडाले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।
राकेश दाहालले तयार पारेको यो पोस्टर आकर्षक छ । यो सिनेमाले लोभको कथा भन्छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई सिनेमामा देखाइएको छ । आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको सिनेमामा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ ।


प्रतिक्रिया