‘द ब्लू लाइट’बाट निर्मात्री बनिन् बेनिशा, कस्तो देखियो फर्स्टलुक ?

‘द ब्लू लाइट’बाट निर्मात्री बनिन् बेनिशा, कस्तो देखियो फर्स्टलुक ?

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ २२ गतेबाट काठमाडौं उपत्यकाका विभिन्न लोकेशनमा छायांकनरत सिनेमा ‘द ब्लू लाइट’बाट अभिनेत्री बेनिशा हमालको फर्स्टलुक सार्वजनिक गरिएको छ ।

पोस्टरमा अभिनेत्री बेनिशा हमाल बारमा निराश मुद्रामा देखिएकी छन् । औंलामा सल्किरहेको चुरोट र छेवैमा टकिला सटको गिलासबाट उनी कुनै पीडा भुलाउन बार पुगेको अनुमान पोस्टरबाट गर्न सकिन्छ । सिनेमाको कथा काठमाडौंको रात्रि जीवनभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानमा आधारित रहेको संकेत पोस्टरले गर्छ ।

यद्यपि, निर्माण टिमले सिनेमाको कथावस्तुबारे कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । २० दिनको तालिका सहित छायांकनमा निस्केको सिनेमालाई बलिराम चौहानले निर्देशन गरिरहेका छन् । उनको यो डेब्यु निर्देशन हो । यसअघि केही सिनेमामा सहायक निर्देशक भएर काम गरेका उनी ‘बलिदान’का लेखक समेत हुन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको सिनेमामा बेनिशासहित अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकारहरु ग्रिसमा कटुवाल र सहारा शर्मा लगायतको अभिनय देख्न पाइनेछ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भैरहेको सिनेमालाई सन् २०२५ भित्रै रिलिज गर्ने निर्माण पक्षको तयारी छ । तर, प्रदर्शन मिति घोषणा गरिएको छैन ।

सिनेमाको सह-निर्मातामा रमन ग्रे रहनेछन् भने कार्यकारी निर्माताहरुमा छायांकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् । उनीहरुले पहिलो पटक सिनेमा निर्माणमा समेत हात हालेका हुन् । सिनेमाको कथावस्तु मन परेकाले नै सिनेमामा लगानी गरेको छायांकार मैनाली र अभिनेत्री हमालको भनाई छ । सिनेमालाई नरेन्द्र मैनालीले खिचिरहेका छन् ।