द सिनेमा टाइम्स, काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको सिनेमा ‘एक्लो’को प्रदर्शन मिति घोषणा नहुँदै मुख्य कलाकारको श्रृंखलाबद्ध रुपमा क्यारेक्टर लुक्स सार्वजनिक भइरहेको छ । सोमबार सुनिल थापा र एवन राज उप्रेतीको लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनीहरूको गेटअप पृथक देखिन्छ ।
सुनिल थापालाई राजा यमको रूपमा चिनाइएको छ । सिंहासनमा बसेका उनले गलामा रुद्राक्षको माला र शिरमा दुईवटा सिङ भएको मुकुट लगाएका छन् । मुकुटमा आगो बलेको देखिन्छ । अर्को पोस्टरमा एवनलाई बारास्टिर पात्रको रुपमा चिनाइएको छ । उनी क्रोधित मुद्रामा देखिएका छन् । उनको गेटअप हेर्दा सिनेमामा उनी नकारात्मक भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
यसअघि नै सिनेमाबाट प्रदीप खड्का, विजय लामा, दीया पुन, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी र जेमी बेकन (बेलायती अभिनेता)को क्यारेक्टर लुक्स सार्वजनिक भैसकेको छ । यो सिनेमामा दिनेश डिसी, त्रिचु राई कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको समेत अभिनय रहेको छ ।
साइन्स फिक्सन जनरामा आधारित रहेर निर्माण भएको सिनेमा कथा निर्देशक प्रदीप शाहीले नै लेखेका हुन् । उनको यो तेश्रो निर्देशकीय सिनेमा हो । हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । केही हप्ताअघि ‘एक्लो’का निर्माताले विश्वको प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा स्टल राखेर सिनेमाको मार्केटिङ गरेका थिए । त्यसका लागि ५० लाखभन्दा बढी खर्च गरिएको थियो ।
सिनेमाको निर्माताहरू राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन तथा सन्तोष लामाको कला निर्देशन छ ।


प्रतिक्रिया