काजी लिम्बूको साम्राज्ञी र मुकुनको जोडी बाँधिने

काजी लिम्बूको साम्राज्ञी र मुकुनको जोडी बाँधिने

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको सिनेमा ‘जदौ’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । केही दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको सिनेमामा अभिनेता मुकुन भुसालको प्रवेश भएको हो । आइतबार उनीसँग निर्माताले लिखित सम्झौता गरेका थिए ।

सिनेमामा साम्राज्ञी र मुकुनको जोडी बाँधिने जनाइएको छ । यो उनीहरुको पहिलो सहकार्य हुनेछ । निर्देशकको टुंगो लाग्न बाँकी रहेको सिनेमामा अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्ध भइसकेकी छन् । निर्देशकको बारेमा केही दिनमा जानकारी गराइने निर्माता अन्जन शर्माले बताए ।

काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको सिनेमाका अन्य कलाकार-प्राबिधीक बारेमा छिट्टै टुंगो लगाइने छ । जदौको अर्थ अभिवादन भन्ने हुन्छ । सानाले ठूलाबडालाई अभिवादन गर्दा यो शब्द प्रयोग गरिन्छ । सिनेमाका गीतमा बाबुल गिरीको संगीत तथा बुद्दी माझीको निर्माण ब्यबस्थापन रहने छ । सिनेमा निर्माण सम्पन्न गरि ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको सिल्भर स्क्रीनकी प्रबन्धक निर्देशक बिमला भन्डारीले बताइन् ।

सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त ब्यानरमा निर्माण हुन लागेको सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको सिनेमामा श्याम तामाङको छायांकन रहनेछ ।