‘मिरमिरे’मा गायक तथा अभिनेता प्रकाश सपूतको प्रवेश

‘मिरमिरे’मा गायक तथा अभिनेता प्रकाश सपूतको प्रवेश

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । याम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमा ‘मिरमिरे’मा गायक तथा अभिनेता प्रकाश सपूतको प्रवेश भएको छ । यसअघि नै सिनेमाको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई फाइनल भएका थिए । सोमबार सिनेमाको निर्माण टिमले अभिनेता प्रकाश सपुतसँग लिखित सम्झौता गरेको हो ।

प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । सिनेमा ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौं । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौं ।’

प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए । सिनेमा राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोर्होयाए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो । निर्देशक शेर्पाका अनुसार ‘मिरमिरे’मा कलाकार र प्राविधिकपक्ष पनि बलियो हुनेछ ।

अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन् । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यो सिनेमाले आफूलाई नयाँ उचाई दिने विश्वास व्यक्त गरेका छन् । ग्रामीण परिवेशको सामाजिक कथा भन्ने सिनेमाको कथा पनि निर्देशक यम शेर्पा स्वयंले लेखेका हुन् ।

यार्सा फिल्मस्को प्रस्तुति रहने सिनेमामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह-निर्मातामा छन् । यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मस्का सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल हुन् । सिनेमा २०८२ मा नै रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।