द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमाको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको अनटाइटल सिनेमा साइन गरेकी थिइन् ।
यो सिनेमाको नाम ‘जहाजैमा’ राखिएको छ । सिनेमाको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । सिनेमाले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ । उज्ज्वल गुरागाँइको लगानी रहने सिनेमामा अभिनय गर्ने कलाकारको लाइनअप पनि सार्वजनिक गरिएको छैन ।
सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्ने पक्का भइसकेको छ । सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको सिनेमालाई भदौबाट छायांकन लैजाने तयारी छ । सिनेमाको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ । ‘पिताम्बर’ निर्देशन गरेपछि चर्चा आएकी कृषा २ वटा सिनेमा निर्माणमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा सिनेमा वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो सिनेमा निर्माण गर्न लागेको हो । सिनेमामा नेपाल र जापानका कलाकारको अभिनय रहनेछ । एक महिनासम्म सिनेमाको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो सिनेमाको प्रि-प्रोडक्सनमा व्यस्त छिन् ।


प्रतिक्रिया