‘महाभोज’को पोखरामा प्रिभ्यु प्रिमियर सम्पन्न, कस्तो पायो प्रतिक्रिया ?

‘महाभोज’को पोखरामा प्रिभ्यु प्रिमियर सम्पन्न, कस्तो पायो प्रतिक्रिया ?

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । पोखरा प्रिमियरमा सहभागी हुन सिनेमाका मुख्ख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको टिम पुगेको थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडित, विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारले सिनेमा हेरेका थिए । सिनेमा हेरेपश्चात् दर्शकले यसको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका हुन् । प्रशंसासँगै सहकारी पीडित दर्शकमा सरकारप्रति आक्रोश पनि देखिएको थियो ।

सिनेमाको परिवेशमा पूर्ण रूपमा भिजेका सहकारी पीडित दर्शकले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ले विद्रोह जन्माउन सक्ने बताए । उनीहरूले यो सिनेमामा सत्ताधारीलाई नै तलमाथि गराउन सक्ने शक्ति रहेको प्रतिक्रिया दिएका थिए । केही दर्शकले यदि कसैको दबाबमा सिनेमाका दृश्य काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए ।

‘महाभोज’ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो । पोखराको सफल प्रिमियर पश्चात् सिनेमाको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुने निर्माता हिमाल कडरियाले बताए ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ । राजेश श्रेष्ठले खिचेको यो सिनेमा आगामी शुक्रवार जेठ ३० गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।