‘एक्लो’की अभिनेत्री दिया पुनले चढिन् युरोपको सबैभन्दा अग्लो हिमाल

‘एक्लो’की अभिनेत्री दिया पुनले चढिन् युरोपको सबैभन्दा अग्लो हिमाल

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माणाधिन नेपाली सिनेमा ‘एक्लो’की अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन् ।

दीया मंगलबार जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन् । यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो । यस उपलब्धिसँगै, उनले ‘सेभेन समिट्स’ चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन् ।

अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन् । जसमा विश्वको सवैभन्दा अग्लो शिखर माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका) र अहिले माउन्ट एल्ब्रुस (युरोप)को सफल आरोहण गरिसकेकी हुन् । उनको आगामी लक्ष्यमा कास्र्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन् ।

दिया पुनले आफु अभिनित प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक्लो’को पोस्टर र नेपालको झन्डा साथमा लगेकी थिइन् । उनको अभिनय रहेको सिनेमा ‘एक्लो’ अहिले विभिन्न कारणले चर्चामा छ । केहि हप्ता अघि मात्र सिनेमा ‘एक्लो’ले कान्समा स्टल राखेर मार्केटिंग गरिएको थियो । कान्सपछि ‘एक्लो’को चर्चा बढेको छ ।