द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो सिनेमाले करिब २०० शोसहित प्रदर्शनमा आएको जानकारी वितरकले दिएका हुन् ।
सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ । यो सिनेमाले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ । काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ निर्माण टिमले पोखरा, बुटवल, विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोको आयोजना गरेको थियो । । यी प्रिमियरमा सहभागी दर्शकले सिनेमाप्रति उत्साह देखाएका छन् ।
सिनेमा निर्माण टिमलेले विभिन्न प्रिमियर शोबाट प्राप्त दर्शक प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ । प्रिमियर शोमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो सिनेमा सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले सिनेमाले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । राजेश श्रेष्ठले खिचेको सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
दोस्रो हप्तामा ‘जन्ते बाख्रो’
यता, आज शुक्रबारबाट गतसाता प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ दोस्रो हप्तामा प्रवेश गरेको छ । दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित प्रदर्शनमा आएको सिनेमाले दोस्रो हप्तामा पनि सुखद् शो पाएको छ । दर्शकबाट मिलिरहेको उत्कृष्ट वर्डअफ माउथले यो सिनेमाले दोस्रो सातामा समेत राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमको छ ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।
सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।


प्रतिक्रिया