द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ । केही दिन अगाडि यो सिनेमाका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माणपक्षले शनिबार भोलाराज सापकोटा र आरुस भुषालको लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन् । झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन् । सँगै छन् आरुस । झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन् । लुगा पसिनाले निथ्रुक्क भिजेका छन् । उनको यो स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ । पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ । भोलाराजको छोराको भूमिकामा आरुस छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । यो सिनेमा आगामी भदौ ६ गते रिलिज हुनेछ । सिनेमाको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । एसोसियट निर्देशक राउतले ‘जनै हराएको मान्छे’ बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ ।
कलाकारहरुको बलियो लाइनअप रहेको सिनेमामा विजय, भोलाराज र आरुससहित केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ ।
सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।



प्रतिक्रिया