अष्ट्रेलिया र दक्षिण कोरियामा ‘महाभोज’ प्रदर्शन हुने

अष्ट्रेलिया र दक्षिण कोरियामा ‘महाभोज’ प्रदर्शन हुने

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ३० गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा महाभोजले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । नेपालमा राम्रो प्रतिक्रिया पाएको सिनेमा अब अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुने तयारीमा छ । अष्ट्रेलियाका विभिन्न सहर र दक्षिण कोरियामा ‘महाभोज’ प्रदर्शन हुने भएको छ । जवकी जापानमा यसको प्रदर्शन जारी नै छ ।

यो सिनेमालाई कोरियामा हिमालयन के–भाइब्स इन्टरटेन्मेन्ट र जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ । ‘महाभोज’को अष्ट्रेलिया प्रिमियर जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अष्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको ‘महाभोज’ले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ । यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले प्रस्तुत गरेको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति निर्माण भएको सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय रहेको छ । सिनेमाका निर्माता हिमाल कडरिया हुन् ।