द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यो विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मंगलवार साँझ काठमाडौंको सुनधारास्थित क्युएफएक्स सिनेमाज्मा सिनेमा हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
सासंद शाहीले ‘महाभोज’ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भएपनि त्यसको दुरुपयोग भइरहेको यथार्थ सिनेमामा देखाइएको उल्लेख गरेका थिए । ‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ । अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ,’ शाहीले भने ।
सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिनेमा हेरेर हलबाट निस्कने दर्शक प्रसन्न देखिनुका साथै यसलाई हेर्नै पर्ने प्रतिक्रिया दिएका छन् । सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकले यसको प्रशंसा गरेका हुन् । समीक्षकले पनि सिनेमाको पटकथा, निर्देशन र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
मंगलवार साँझ नै कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिस्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर बिस्ट लगायतले पनि ‘महाभोज’ हेरेर यो सिनेमा नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले नछुटाई हेर्नुपर्ने विषयमा बनेको बताए । सिनेमा हेरेपछि उनीहरूले ‘महाभोज’ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरेका थिए ।
यसअघि, सोमबार साँझ काठमाडौंमा सिनेमाकर्मी, साहित्यकार र अन्य क्षेत्रका व्यक्तिहरूले ‘महाभोज’ हेरेका थिए । विशेष शोमा कलाकारहरु हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बू, निर्देशकहरु तुलसी घिमिरे, प्रदीप भट्टराई, नवीन चौहान, साहित्यकार अमर न्यौपाने, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायतको उपस्थिति थियो ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।


प्रतिक्रिया