अमेरिकामा विभिन्न सहरमा देखाइयो ‘यो मन त मेरो नेपाली हो’

अमेरिकामा विभिन्न सहरमा देखाइयो ‘यो मन त मेरो नेपाली हो’

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को अमेरिकामा विभिन्न सहरमा विशेष शो आयोजना गरिएको छ । अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा सिनेमा हेर्ने नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर समेत सिनेमा हेरेका थिए ।

सिनेमालाई अमेरिका प्रदर्शनमा सुखद् प्रतिक्रिया मिलेको छ । नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्छ र नेपालीहरुबीच मजबुत एकता हुनुपर्छ भन्ने सन्देश सिनेमाले दिएको प्रायःको धारणा थियो । कतिपयले आफ्नै भोगाई पर्दामा आएकोमा खुसी व्यक्त गर्दै सिनेमा हेरिरहँदा भावुक भएको बताएका थिए । अमेरिकामा सिनेमालाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।

मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, नारायण खाती, आयुषा समाल, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय छ । नेपाली भाषा, साहित्य, परम्परा र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि सिनेमा निर्माण गरेको निर्देशक प्रधानको दाबी छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन छ ।