‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित

‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने तेस्रो सिनेमा ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छन् । निर्देशक कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर सेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।

बिहीबार निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै सिनेमामा जापानीज अभिनेत्री रजेल इचिमियाले काम गर्ने पक्का भएको जानकारी दिएको हो । सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो एउटा सिनेमा मात्र नभएर नेपाल र जापानबीचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।

यो सिनेमा जापानीज अभिनेत्री अनुबन्धित भएसँगै यसको चर्चा खुबै छ । ‘पिताम्बर’ निर्देशक कृषाले जापान पुगेर यो सिनेमामको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि-प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् । सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।

निर्देशक चौलागाईंले यसपटक सिनेमामा जापानकी अभिनेत्रीलाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो सिनेमालाई यूएनए प्रोडक्सनको व्यानरमा उज्वल गुरागाईंले निर्माण गर्दैछन् । सिनेमाले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्वलको भनाई छ ।

सिनेमामा जापानीज अभिनेत्री हुने पक्का भएपनि अभिनेता कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाईंले हाल अभिनेता फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।

रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी अभिनेत्री तथा मोडल हुन् । उनको आगमनसँगै नेपाली सिनेमाको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ । सिनेमालाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।